FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

         भुम्लु गाँउपालिकाको स्थापना स्थानीय तहको पुनसंरचनाको क्रममा साबिकका सापिङ्ग, सिम्थली, बेखसिम्ले, चौवास, सल्लेभुम्लु, कोलाँती भुम्लु, फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी (साबिकका ५,७,८ र ९ नं. वडा) गाँउ विकास समिति मिलाएर गरिएको हो । अहिले यस गाँउपालिकामा १० वटा वडाहरु रहेका छन् । यसको जनसंख्या १८,९१६ रहेको छ भने छेत्रफल ९१ वर्ग किलोमिटर रहेको छ । भुम्लु गाउँपालिकाको पूर्वमा चौँरी देउराली गाउँपालिका, पश्चिममा मण्दन देउपुर नगरपालिका र सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका र दक्षिणमा पाँचखाल नगरपालिका पर्दछन् । यस गाँउपालिकाका प्राकृतिक स्रोत साधानमा धनी छ भने यहाँ मिहेनती जनसमुदायको बसोबास रहेको छ । सुनकोशी र ईन्द्रावतीजस्ता नदीले बेष्ठित भुम्लुमा साना ठुला खोलानालाहरु र प्रशस्त जङ्गल छन् ।

         ब्राह्मण, क्षेत्री, र दसनामी समुदाय, तामाङ, पहरी, दलित, माझी, नेवार लगायतका समुदायको बसोबास रहेको यस गाँउपालिकामा जनसमुदायहरु बिच हार्दिकता एवम् सहकार्यको भावना रहेको पाईन्छ ।

      यस गाँउपालिकाका जनताको मुख्य पेसा कृषि नै हो । परम्परागत कृषि प्रणालीमा आधारित किसानहरु नै यसका आधार हुन् । व्यापार व्यवसाय , रोजगारी र वैदेशिक रोजगारी पनि जनजीविकाको सहायक स्रोतहरु हुन् ।  दोलालघाट बजार गाँउपालिकाको ठुलो बजार क्षेत्र हो । यसका अलावा भुम्लुटार, सल्ले र चौवासमा पनि साना बजार छन् । वडा नं. १ को मुलखर्कमा रहेको भीमसेन स्थान र गणेश मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल हुन् । वडा नं. ८ मा सुनकोशी र ईन्द्रावतीको दोभानमा अवस्थित दुलालेश्वर महादेवको मन्दिर, अन्य गुम्बा , मठमन्दिरले सजिएको यस गाँउपालिकामा दोलालघाट, गैडीडाँडा, साँगास्वती, भीमसेन स्थान जस्ता प्रशस्त पर्यटकीय तथा सम्भावना बोकेका स्थलहरु छन् । गाँउपालिकाको विकासमा यस्ता पर्यटकीय तथा धार्मिक स्थलहरुको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।